०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रबेजलाई फेसबुकमा नग्न फोटो भिडिओ पठाउँदा ब्ल्याकमेलको शिकार भइन् नेपाली युवती

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, जेठ २९, २०८१

काठमाडौं । १ बैशाख २०८१ को मिति । नयाँ वर्षको दिन । घरमा माहोल रमाइलो थियो । एकाबिहानै ३२ वर्षीय रोशन सिंह (नाम परिवर्तन) को ह्वाट्सएपमा आफ्नै बहिनीको नग्न फोटो तथा भिडिओ आयो । रोशन आफ्नो फोन घरमै छोडेर नियमित काममा गएका थिए । उक्त फोनमा परिवारका अन्य सदस्यको पनि पहुँच थियो ।

रोशन पेसाले सवारी चालक हुन् । घर पुग्दा परिवारले बहिनीको अश्लील फोटो र भिडिओ आएको खबर दिए । रोशन झस्किए । नयाँ वर्षका लागि गरेका सबै तयारी फिक्का भए ।

विवाहका लागि कुरा अगाडि बढाउने कुरा भइरहेको बेला भारतीय नम्बरबाट ह्वाट्सएपमा बहिनीको अश्लील भिडिओ आउँदा रोशन अत्तालिए । फोटोसँगै लेखिएको थियो, “मसँग बिहे नगराइदिए तिम्रो बहिनीको नाङ्गो फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल गरिदिन्छु ।”

मेसेज पठाउने व्यक्ति थिए भारत बिहार राज्य मोतिहारी जिल्लाका ३३ वर्षीय प्रबेज खाँ । रोशनले त्यसो नगर्न भन्दै हार गुहार गरे । मेसेजको रिप्लाई गर्दै खाँले भने, “मैले फोटो र भिडिओ भाइरल गरिदिएँ भने तिम्रो बहिनीसँग कसैले पनि बिहे गर्दैन । म तिम्रो बहिनीको बिहे कसैसँग हुन पनि दिन्न ।”

अश्लील फोटो र भिडिओ पठाएर त्यस्तो धम्की दिएपछि युवतीका दाजुले बहिनीको इज्जत जोगाउन युवकले भने अनुसार सम्झौता गर्न तयार भए । तर, खाँ उनको घरमा आउन तयार भएनन् । पक्राउ परेपछि बयानका क्रममा खाँले प्रहरीलाई भनेका छन्, “मलाई घरमै बोलाएका थिए । घरमै बोलाएको भएर एक्लै जान डर लाग्यो । म गइनँ ।”

घरमा बोलाउँदा खाँले बारम्बरा अस्वीकार गरिरहे । यसरी दिनहरू बित्दै गए । केही नलागेपछि रोशनले १० बैशाखमा खाँलाई रौतहट जिल्लाको इसनाथ नगरपालिका वडा नम्बर ४ को नेपाल-भारत स‍ीमा क्षेत्रमा पर्ने बजारमा बोलाए । बजारमा बोलाएपछि खाँ आउन राजी भए ।

यता रोशनले स्थानीय प्रहरीलाई यसबारे पहिल्यै सबै जानकारी गराइसकेका थिए । खाँ आउने भनेको ठाउँमा सबैभन्दा पहिला रोशन पुगे । त्यसपछि सँगै प्रहरी पनि ।

उनको साथमा रहेको फोन चेकजाँच गर्दा युवतीका कैयौं अश्लील फोटो र भिडिओ भेटिए । त्यसपछि प्रहरीले खाँलाई नियन्त्रणमा लियो ।

युवतीका अश्लील फोटो कसरी पुगे भारतीयको मोबाइलमा ?

खाँका अनुसार २०७६/७७ तिर नै पीडित युवती र खाँको चिनजान भएको थियो । पीडित युवतीकी दिदीको बिहे भारतको बिहार राज्य मोतिहारी जिल्लामा भएको थियो । खाँ पीडित युवतीका भिनाजुका साथी थिए । त्यसैले खाँ आफ्नो साथीको घरमा आवतजावत गरिरहन्थे । आवतजावत हुने भएकाले खाँ र युवतीकी दिदीको राम्रै चिनजान भइसकेको थियो ।

युवतीकी दिदीको बिहे भएको केही समयपछि उक्त घरमा अर्का एक सदस्यको बिहेको कार्यक्रम थियो । जहाँ पीडित युवती पनि सहभागी भएकी थिइन् । त्यतिबेला खाँ र ती युवतीबिच पहिलो पटक आँखा जुधेका थिए ।

खाँले भने अनुसार पछि ती युवतीले दिदी वा भिनाजुबाट उनको नम्बर लिइन् र फोन गरिन् । फोनमा उनले आफूलाई चिनाएपछि उनीहरूबिच दिनहुँ जसो कुराकानी हुन थाल्यो । सुरुमा भ्वाइस कल मात्र हुन्थ्यो । तर, पछि सामाजिक सञ्जाल फेसबुक मेसेन्जर र ह्वाट्सएपमा भिडिओ कल नै हुन थाल्यो ।

भिडिओ कलमा उनीहरू जिस्किरहेका हुन्थे । कुराकानीकै क्रममा आफू विवाहित भएको कुरा समेत बताएको बयान खाँले दिएका छन् । विवाहित रहेको कुरा थाहा भएर होला उनीहरूबिच प्रेमको भने कुरा हुँदैनथ्यो ।

कुराकानी अगाडि बढ्दै जाँदा उनीहरू छाडापनमा उत्रिए । “र हामी सामान्य कुराकानीबाट छाडा हुन थाल्यौं,” बयानका क्रममा खाँले भनेका छन्, “छाडा कुरा गर्ने भिडिओ कलमा एक अर्काको गुप्ताङ हेर्ने हेराउने र सोही अनुसारको अश्लील कुराकानीहरू गर्न थाल्यौं । त्यति बेलासम्म मैले उनलाई माया प्रेमको कुनै बाचा कसम गरेको थिइनँ । नत उनले कहिल्यै त्यस विषयमा जिकिर नै गरिन् ।”

खाँले अगाडि भनेका छन्, “सबै सामान्य हुदाँ हुँदै उनले कल, भिडिओ कल वा भनौं न कुराकानी नै गर्न बन्द गरिन् । त्यसको कारण मैले बुझ्न सकिनँ । मैले धेरै कोसिस गरें, उनीसँग सम्पर्क हुन सकेन ।”

युवती सम्पर्कमा नआएपछि खाँ पनि आफ्नै दिनचर्यामा व्यस्त रहे । खाँले ती युवतीलाई बिर्सेर आफ्नै काममा केन्द्रीत भए । यसरी सम्पर्क टुटेको दुई वर्ष बितिसकेको थियो । दुई वर्षपछि एक्कासि खाँलाई ती युवतीले फोन गरिन् । फोन गर्दा ती युवतीले आफू जनकपुर अर्को दिदी भिनाजुको घरमा बस्न थालेको सुनाइन् ।

“त्यो मोबाइल उनले आफ्नो भिनाजुको कवाड पसलबाट लिएर आई प्रयोग गरिरहेकी थिइन्,” उनले भने, “पछि बुझ्दै जाँदा उनी अन्यत्र कतै भागी विवाह गरेकी रहिछन् । तर उक्त ठाउँबाट कुनै कारण बस उनले सम्बन्ध बिच्छेद गरी आफ्नो घरमा फर्की आउँदा उनको घर परिवारका मानिसहरूले जनकपुरको महेन्द्रनगर पठाइदिएका रहेछन् ।”

यसरी युवतीले आफूलाई दुई वर्षपछि पुनः फोन गरेको खाँको जिकिर छ । फोनमा पुनः कुराकानी हुन थालेपछि उनीहरूबिच पहिलेको जस्तै सम्बन्ध स्थापित भयो ।

“यसपालि उनले मसँग विवाह गर्न भन्दै सिधै छाडापन वा अश्लीलताबाट कुरा सुरु हरिन्,” खाँले अगाडि भने, “मैले पनि बिचार गरें, आफूभन्दा कम उमेरकी जवान केटीले आफूलाई विवाह गर्न प्रोत्साहित गरी रहेकी छे भने म किन पछि हट्ने । आखिर मेरो परम्परामा दुई/तीन ओटा बिहे गर्नु समान्य कुरा नै हो भन्ने हिसाबले मैले कुराकानी गरें ।”

युवतीले आफूलाई भिडिओ कल गरी त्यसरी आफ्ना गोप्य अङ्गहरू देखाउँदा आफूले त्यसको स्क्रिनशट लिने गरेको खाँले स्वीकार गरे । यो कुरा ती युवतीलाई समेत थाहा भएको उनको भनाइ छ ।

यसै बिच पीडित युवतीका घर परिवारले उनको विवाह अर्कै ठाउँमा गरिदिन लागेको कुरा खाँले चाल पाए । यस्तो खबरले खाँलाई असह्य पीडा भयो । उनले युवतीका परिवारको नम्बर मागे । र, उनका दाजुलाई फोन गरेर उनीहरूबिचको सम्बन्धको बारेमा सबै कुराकानी सुनाए । त्यही क्रममा उनले आफूहरूबिच कस्तो कुराकानी हुन्छ भन्ने समेत सुनाए । युवतीका दाजुलाई विश्वास नलागेपछि युवतीसँग भएको कुराकानीको स्क्रिनशट, फोटो र भिडिओ सबै पठाइदिएको खाँले बयानमा भनेका छन् ।

त्यसपछि युवतीका दाजुलाई भेट्न जाँदा उनी पक्राउ परे । यता पीडित युवतीका दाजुले भने खाँले फोटो र भिडिओको आडमा ब्ल्याकमेल गरेको आरोप लगाएका छन् । रोशनले भनेका छन्, “उनले दुई वर्षदेखि मेरी बहिनीलाई डर त्रास देखाएर आफ्नो काबुमा पारी आफूले चाहे अनुरूप उनीसँग चाहिने नचाहिने क्रियाकलाप गराउँदै आएका थिए । त्यसैको स्क्रिनशट राखेका उनले अहिले बहिनीको विवाह हुने थाहा पाएपछि भाइरल गरिदिने भन्दै फोटो र भिडिओ पठाएर चरित्र हत्या गरेका छन् ।”

विभिन्न प्रमाणबाट प्रतिवादी प्रबेज खान भन्ने प्रबेज खाँले गरेको उक्त कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिमको कसुर अपराध भएको रौतहट जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा उल्लेख छ । यो घटनामा फैसला हुन भने बाँकी छ ।

टेकपाना डटकमबाट साभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]