०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सप्तकोसी नदीको बाँध फुटेको १५ वर्ष पुरा, सरकारले घोषण गरेको सहयोग नपाउँदा पीडितहरुको बिजोग

Logo
देवराजा यादव प्रकाशित आइतबार, भाद्र ०३, २०८०

फाईल

भण्टाबारी । सप्तकोसी नदीको पूर्वी बाँध फुटेको शनिबार १५ वर्ष पुरा भएको छ। गएको २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुशाहास्थित पूर्वी तटबन्ध फुट्दा ७ हजार ५ सय ६३ घरपरिवारका ४२ हजार ७ सय ६३ जना स्थानीय विस्थापित भएका थिए। तर, बाँध फुटेर घरवारबिहीन भएका बाढी पीडितहरूले १५ वर्ष पुगिसक्दा पनि राहत नपाएको बताएका छन्।

कोसी नदीको पूर्वी बाँधको मूल फुटेर गाउ“मा पस्दा सुनसरीको साविकका गाउँविकास समितिहरू पश्चिम कुशाहा, श्रीपुर र हरिपुर पूर्णरूपमा डुबानमा परेको थियो। नियमित रूपमा उब्जाउ हुने खेतमा कोसीको बाढी पसेर बालुवाले पुरिदिएकाले विगत १० वर्षदेखि स्थानीयले खेतीपाती गर्न पाएका थिएनन्।

तर, केही वर्षयता छिटपुट खेती गर्न थालेका छन्। सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पशु, आवास, पुनस्र्थापना, पुनर्वास र राहतलगायतका शीर्षकमा कोसी पीडितलाई सहयोग गर्ने घोषणा गरे पनि हालसम्म नपाएको कोसी बाढीपीडित संघर्ष समितिका अध्यक्ष मोहमद वाजुद्धीनले बताए।

कोसी गाउँपालिका–७ साविकको श्रीपुर गाविस–३ का मनमोहन झाले ६ बिघाहा जमिन कोसीको बाढीले बगर बनाएता पनि आफूले पाउनुपर्ने राहत नपाएको बताए। उनले कोसी पीडितसँग सरकारले गरेको सम्झौताअनुसार पाउनु पर्ने राहतका लागि अहिले पनि दौडधुप गरिरहेको बताए। नियमित आम्दानीको स्रोत खेती नै भए पनि १५ वर्षदेखि खेती गर्न नपाएकोमा उनले दुखेसो व्यक्त गरे।

दयाशंकर झाले केही जग्गाको क्षतिपूर्ती पाए पनि बाली र सरकारले घोषणा गरेको काठ हालसम्म नपाएको बताए।विस्थापित भएका पीडितहरू विस्तारै आफ्नो पुरानो दैनिकी अवस्थामा फर्किन थाले पनि बाढीबाट क्षति भएको जग्गा अहिलेसम्म पूर्ण रूपमा पुरानो अवस्थामा आउन नसकेको र सरकारले भनेको पूर्ण राहत नपाएको कोसी गाउँपाालिका–६ का बिन्देश्वर मेहताले बताए।

खेती गरेर चार जनाको जिविकोपार्जन गर्दे आएका श्रीपूरका जीवन यादवले सरकारले दिने भनेर घोषणा गरेको राहत नपाएकाले बिच्चलीमा परेको सुनाए। उनको ३ बिघाहा जमिनमा धान र गहुँ उत्पादन हुन्थ्यो। कोसीको बाढीले घरबारविहीन बनाएका अधिकांश किसानको खेत बगरमा परिणत भएपछि अहिले दैनिक गुजारा गर्न समस्या हुने गरेको उनले बताए।

पटक–पटक सरोकार निकायलाई आग्रह गर्दासमेत कोसी बाढी पीडितको समस्याप्रति उदासीन हुँदै आएकाले राहत नपाएको अध्यक्ष आजुदिनको आरोप छ। सरकारले तीन महिनाको रासन, घर बनाउन दिने भनेको ३० केबी काठ र २० हजार रुपैयाँ अधिकांशले नपाएको उनले जानकारी दिए। उनले प्रतिबिघाहा सरकार दुई लाख रुपैयाँ क्षतिपूर्ति दिए पनि खेतमा बालुवा भरिएका कारण उनीहरूलाई गुजारामा कठिनाइ भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]