०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक चैती छठ मनाइँदै

Logo
रासस प्रकाशित आइतबार, बैशाख ०२, २०८१

तस्विर : नमो अनलाईन

जनकपुरधाम ।  मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।  चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् ।

यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरी सकेका छन् । ‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर व्रर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन व्रतालुले व्रत सङ्कल्प गर्ने चलन छ ।

व्रतालुले षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । अब भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई व्रतालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । भोलि सप्तमीका दिन बिहान घाटमै उदाउँदा सूर्यलाई भोरका अरख दिएपछि यो पर्व समापन हुन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीलगायत सामग्री व्रतालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले  मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा जाम्बवतीका गर्भबाट उत्पन्न कृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि यो प्रारम्भ भएको मानिन्छ । यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चैती छठसँगै मिथिलामा आज नयाँवर्ष प्रारम्भमा  जुडशीतल र वासन्ती नवरात्र ९चैते दसैँ० पनि मनाइँदैछ । मिथिलामा वैशाख सङ्क्रान्ति र त्यसको भोलिपल्ट गरी दुई दिन जुडशीतल मनाइन्छ । पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिन (आज, वैशाख २ गते) लाई ‘जुडशीतल’ भनिन्छ । पर्वका अवसरमा आज हिलो खेलेर वर्षौंभरि सहकालको कामना गरिन्छ । पर्वमा दहीकरी, बरीकरी, काँचो केरा, लौका र परवलका तरुवा, सजिउनको तरकारी पनि खाने परम्परा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]

सुनसरी । देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नारा सहित भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरूलाई लक्षित गरी निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो पटक स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्बासीहरुलाई निःशुल्क जग्गाधनी प्रमाण–पुर्जा वितरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो। […]

सुनसरी। देवानगञ्ज गाउँपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्था विधिसम्मत सञ्चालन भए नभएको, उदेश्य अनुसारको काम गरे नगरेको, व्यवस्थित रुपमा संचालन गरे नगरेको अनुगमन गरी कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफिले बताउनुभयो। देशभरका सहकारीहरुमा विकृति बढ्दै गईरहेको वेला देवानगञ्ज गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीहरु […]